नेपालको औद्योगिक विकासको निम्ति वढी अनुकुल वातावरण तयार हुन सकोस् भन्ने उद्देश्यले नेपाल सरकारले औद्योगिक नीति, २०३० लागू गरिए अनुसार २०३३ सालमा औद्योगिक उत्पादन र उत्पादकत्वमा गुणात्मक एवं परिमाणात्मक सुधार ल्याउन गुणस्तर निर्धारण समितिको गठन भएर विभिन्न वस्तु वा पदार्थहरुको गुणस्तर निर्धारण कार्य २०३४ सालमा थालनी भयो । सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ (संशोधन समेत) (परिशिष्ट—१) र सो अन्तर्गत बनेका नेपाल गुणस्तर (प्रमाण चिन्ह) नियमावली (संशोधन समेत) (परिशिष्ट २) अनुसार गुणस्तर निर्धारण समितिलाई २०३९ सालमा उद्योग मन्त्रालय अन्तर्गत विभागीय स्तरको नेपाल गुणस्तर कार्यालयमा परिणत गरिनुका साथै नेपाल गुणस्तर परिषद [Nepal Council for Standards (NCS)] स्थापना भयो ।
गुणस्तर सम्बन्धी क्रियाकलापमा बैज्ञानिक, औद्योगिक र कानूनी नापतौलको पनि भूमिका हुने हुँनाले यस क्षेत्रमा पनि सुदृढीकरण गरी वढी प्रभावकारी गराउने अभिप्रायले नेपाल गुणस्तर कार्यालयसँग नापतौल विभागलाई गाभी नेपाल गुणस्तर तथा नापतौल विभाग [Nepal Bureau of Standards and Metrology (NBSM)] स्थापना बि.सं. २०४४ सालमा भएको हो । हाल यो विभाग नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्दछ । गुणस्तर क्रियाकलाप र नापतौल कार्यहरुमा अझ वढी प्रभावकारी तथा व्यापक बनाउन यस विभाग सन् 1964 देखि अन्तर्राष्ट्रिय नापतौल संस्था (OIML, Organization for International Legal Metrology) र सन् 1991 देखि गुणस्तरको माथिल्लो संस्था अन्तर्राष्ट्रिय गुणस्तर संस्था (ISO, International Organization for Standardization) को पत्राचार सदस्य (Corresponding Member), सन् 1981 देखि एशिया प्यासिफिक मेट्रोलोजी प्रोग्राम (Asia Pacific Metrology Program) को संस्थापक सदस्य तथा सन् 2001 देखि इन्टरनेशनल इलेक्ट्रोटेकनिकल कमिशन (International Electro-technical Commission) संस्थाको एफिलियट सदस्य (Affiliate Member) भएको ।