नेपाल सरकार
नेपाल गुणस्तर तथा नापतौल विभाग
बालाजु, काठमाण्डौ, नेपाल

अध्यावधिक मिति : २०१८-०१-०३

पृष्ठभूमी:

नेपालको औद्योगिक विकासको निम्ति वढी अनुकुल वातावरण तयार हुन सकोस् भन्ने उद्देश्यले श्री ५ को सरकारले औद्योगिक नीति, २०३० लागू गरिए अनुसार २०३३ सालमा औद्योगिक उत्पादन र उत्पादकत्वमा गुणात्मक एवं परिमाणात्मक सुधार ल्याउन गुणस्तर निर्धारण समितिको गठन भएर विभिन्न वस्तु वा पदार्थहरुको गुणस्तर निर्धारण कार्य २०३४ सालमा थालनी भयो । सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ (संशोधन समेत) (परिशिष्ट—१) र सो अन्तर्गत बनेका नेपाल गुणस्तर (प्रमाण चिन्ह) नियमावली (संशोधन समेत) (परिशिष्ट २)  अनुसार गुणस्तर निर्धारण समितिलाई २०३९ सालमा उद्योग मन्त्रालय अन्तर्गत विभागीय स्तरको नेपाल गुणस्तर कार्यालयमा परिणत गरिनुका साथै नेपाल गुणस्तर परिषद [Nepal Council for Standards (NCS)] स्थापना भयो ।

गुणस्तर सम्बन्धी क्रियाकलापमा बैज्ञानिक, औद्योगिक र कानूनी नापतौलको पनि भूमिका हुने हुँनाले यस क्षेत्रमा पनि सुदृढीकरण गरी वढी प्रभावकारी गराउने अभिप्रायले नेपाल गुणस्तर कार्यालयसँग नापतौल विभागलाई गाभी नेपाल गुणस्तर तथा नापतौल विभाग [Nepal Bureau of Standards and Metrology (NBSM)] स्थापना बि.सं. २०४४ सालमा भएको हो । हाल यो विभाग नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्दछ । गुणस्तर क्रियाकलाप र नापतौल कार्यहरुमा अझ वढी प्रभावकारी तथा व्यापक बनाउन यस विभाग सन् १९६४ देखि अन्तर्राष्ट्रिय नापतौल संस्था (OIML, Organization for International Legal Metrology) र सन् १९९१ देखि गुणस्तरको माथिल्लो संस्था अन्तर्राष्ट्रिय गुणस्तर संस्था (ISO, International Organization for Standardization) को पत्राचार सदस्य (Corresponding Member), सन् १९८१ देखि एशिया प्यासिफिक मेट्रोलोजी प्रोग्राम (Asia Pacific Metrology Program) को संस्थापक सदस्य तथा सन् २००१ देखि इन्टरनेशनल इलेक्ट्रोटेकनिकल कमिशन (International Electro-technical Commission) संस्थाको एफिलियट सदस्य (Affiliate Member) भएको ।

विभाग स्थापनाको मुख्य उद्देश्य:

(क)   सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्न र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्न । उपर्युक्त सम्बन्धमा

            (१) उद्योगहरुलाई गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने इजाजत पत्र दिने,

            (२) परामर्श दिने ।

   (ख) नेपाल अधिराज्यभरी मेट्रिक पद्धतिमा आधारित नाप र तौलको स्टाण्डर्ड कायम गरी प्रचलनमा ल्याउन । उपर्युक्त सम्बन्धमा विभाग अन्तर्गत कार्यालयहरु मार्फत

            (१)   सम्बन्धित व्यापारी/व्यवसायी/उद्योगीहरुलाई नापतौलहरु प्रयोग गर्न अनुमति दिने ।

            (२)   नाप तौलहरु पुनः जाँच गर्ने र टाँचा लगाउने ।

            (३)   ऐन र नियम विपरित पाइएमा दण्ड जरिवाना गर्ने ।

विभागका मुख्य मुख्य कार्य तथा सेवाहरु:

यस विभागले उत्पादक, उपभोक्ता, व्यापारी, सेवा प्रदान गर्ने वुद्धिजीवि र नागरिक समाजका सबै पक्षको हितको सम्बद्र्धनको लागि निम्नलिखित कार्यहरु तथा सेवाहरु प्रदान गर्दछ ।

कार्यहरु:

  • प्रलेख मस्यौदा तर्जुमागर्ने ।
  • गुणस्तर र नापतौल सम्बन्धी जनचेतना जागृत गर्न प्रचार प्रसार गर्ने ।
  • विभिन्न उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिलाई गुणस्तर सम्बन्धी तालिम प्रदान गर्ने ।
  • नाप तौलको राष्ट्रिय स्टाण्डर्ड बनाई अद्यावधिक राख्ने ।
  • गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्न प्रारम्भिक निरीक्षण, चिन्ह प्रदान र आकस्मिक  निरीक्षण गर्ने।

सेवाहरु:

  • गुणस्तर निर्धारण
  • गुणस्तर प्रमाण चिन्ह प्रदान
  • खेप प्रमाणिकरण
  • प्रयोगशाला प्रमाणिकरण
  • विश्लेषण सेवा
  • प्राविधिक सेवा तथा प्रवर्द्धन
  • पुस्तकालय सेवा
  • क्यालिव्रेशन सेवा
  • इको लेवलिङ्ग सेवा
  • एन.एस.क्वालिटी एवार्ड
  • कानूनी नापतौलको कार्यान्वयन
  • अन्तर्राष्ट्रिय व्यापारमा हुन आउने प्राविधिक अवरोध हटाउन आवश्यक सेवा